पछिल्लो समयमा रेखा थापालाई डेब्यु गराएको नाटक मीरा र लामो समयको अन्तरालपछि नायक जीवन लुइँटेललाई कमब्याक गराएको नाटक शिरीषको फूल को सफल मञ्चनपछि कान्तिपुर फिल्म एकेडेमीको नाटकघर कान्तिपुर थिएटरले आफ्नो तेस्रो नाटक महारानीको जात्रा मञ्चन गर्न लागेको छ।
मीरा र शिरीषको फूल को चर्चाका कारण पनि रंगमञ्च क्षेत्रमा कान्तिपुरले मञ्चन गर्न लागेको यो नयाँ नाटकप्रति धेरैको चासो देखिएको छ। दुवै नाटकका क्रममा थिएटरमा नयाँ दर्शक, चलचित्रकर्मी, कलाकार र पत्रकारहरूको राम्रो उपस्थिति रहेको थियो। कान्तिपुर थिएटरको सुरुवातसँगै रंगमञ्च अझ फराकिलो र व्यावसायिक बन्दै गएको रंगकर्मीहरूको विश्वास छ।
यसपटकको नाटकमा कान्तिपुर थिएटरले चलचित्र र रंगमञ्चकी अनुभवी अभिनेत्री उषा रजक र राज न्यौपाने सँगै नव–अभिनेत्रीहरू सुहाना आचार्य र निकीता आचार्यलाई महारानीको जात्रा को मञ्चमा उतार्दैछ। लामो समयदेखि नाटक डिजाइन र निर्देशन गर्दै आएका अनुभवी रंगकर्मी तथा प्रशिक्षक दिपल बरालले यस नाटकको परिकल्पना तथा निर्देशन गरेका हुन्।
रमेश पुरीको निर्माणमा बन्ने यस नाटकमा अन्य कलाकारहरूमा दिपेश गजुरेल, विकल्प ओली, ज्योति लामा, समीर शर्मा, विशाल कार्की, गोविन्द पौडेल, श्रीधर गौतम, प्रयास खत्री, बिमल यादव, मनोज तामाङ, बिरान दहानी, स्वेता चौलागाईं र कुशल बास्कोटा लगायतका कलाकारहरू मञ्चमा देखिनेछन्। सबै कलाकार कान्तिपुर फिल्म एकेडेमी र थिएटरका विद्यार्थी तथा सदस्य हुन्।
आगामी कात्तिक २४ गतेदेखि मंसिर २० गतेसम्म कान्तिपुर फिल्म एकेडेमी, गैह्रीधारामा बुधबार बाहेक हरेक साँझ ५ बजे महारानीको जात्रा मञ्चन हुनेछ। नाटक हेर्नका लागि विद्यार्थी तथा रंगकर्मीहरूका लागि प्रवेश शुल्क रु ३००, र साधारण दर्शकका लागि रु ५०० तोकिएको छ।
Release Date: Nov 10, 2025
Runtime: 1 Hr 30 Minutes Hours
Kathmandu