कान्तिपुर थिएटर, कान्तिपुर फिल्म एकेडेमीको रंगमञ्च, सबै क्षेत्रका कलाकारलाई अटाउने तथा सिनेमा र रंगमञ्चलाई जोड्ने साझा मञ्च हो। नेपाली चलचित्रका महानायक राजेश हमालले शिलान्यास गर्नुभएको यस थिएटरको उद्घाटन मूर्धन्य कलाकार मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गर्नुभएको हो।
कान्तिपुर थिएटरको पहिलो नाटक ‘मीरा’ थियो। यस नाटकमा मीरा नामकी स्त्रीको आत्मिक यात्रा, सामाजिक परिवेश तथा जीवनप्रतिको संघर्षलाई प्रस्तुत गरिएको थियो। सुन्दर धितालको परिकल्पना तथा निर्देशनमा तयार भएको यस नाटकमा रेखा थापा, विशाल पहारी र बिन्दा खतिवडा लगायतका कलाकारहरूको अभिनय रहेको थियो। ‘मीरा’ मार्फत रेखा थापाले रंगमञ्चमा डेब्यु गर्नुभएको थियो।
दोस्रो नाटक ‘शिरीषको फूल’ पारिजातको चर्चित उपन्यासमा आधारित थियो। यस नाटकले जीवन, माया, सम्बन्ध, एक्लोपन र मानवीय संवेदनाका संवेदनशील पक्षहरूलाई रंगमञ्चमा प्रस्तुत गरेको थियो। नाटकमा जीवन लुईँटेल, सनिशा भट्टराई र राज न्यौपाने लगायतका कलाकारहरूको अभिनय रहेको थियो। यस प्रस्तुतिले साहित्यिक कृतिलाई रंगमञ्चीय भाषामा प्रस्तुत गर्ने कान्तिपुर थिएटरको प्रयासलाई थप बलियो बनाएको थियो।
तेस्रो नाटक ‘महारानीको जात्रा’ ले इतिहास र वर्तमानबीचको संवाद, सत्ता, महिला शक्ति तथा समाजमा महिलाको भूमिकालाई प्रस्तुत गरेको थियो। दिपल बरालको परिकल्पना तथा निर्देशनमा तयार भएको यस नाटकमा उषा रजक, राज न्यौपाने र सुहाना आचार्य लगायतका कलाकारहरूको अभिनय रहेको थियो। विशेषगरी उषा रजकको सशक्त अभिनयले दर्शकको मन जितेको थियो।
चौथो नाटक ‘सेतो धरती’ अमर न्यौपानेको चर्चित उपन्यासमा आधारित नाट्य रूपान्तरण थियो। यस नाटकले नेपाली समाज, परम्परा, बालविवाह, विधवा जीवन तथा महिलाको संघर्षलाई संवेदनशील ढंगले प्रस्तुत गरेको थियो। सुन्दर धितालको निर्देशनमा तयार भएको यस नाटकमा बेनिशा हमाल, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय रहेको थियो। बेनिशा हमालको सशक्त अभिनय र भावनात्मक प्रस्तुतिले दर्शकबाट विशेष प्रशंसा प्राप्त गरेको थियो। ‘सेतो धरती’ले काठमाडौंमा १०१ सफल प्रदर्शन पूरा गर्दै विराटनगर र पोखरासम्म समेत आफ्नो यात्रा विस्तार गरेको थियो।
पाँचौँ नाटक ‘महाभारत’ थियो। नवीन भट्टको निर्देशनमा तयार भएको यस प्रस्तुतिले महाभारतको पौराणिक कथालाई समकालीन रंगमञ्चीय शैलीमा प्रस्तुत गर्दै सत्ता, सम्बन्ध, द्वन्द्व, नैतिकता तथा मानवीय स्वभावका विविध पक्षलाई उजागर गरेको थियो। नाटकमा रमेश बुढाथोकी, मनोज गजुरेल, सुवर्ण थापा, सन्दीप श्रेष्ठ र सुप्रज्ञा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको थियो। अनुभवी कलाकारसँगै नयाँ पुस्ताका कलाकारलाई समेत एउटै मञ्चमा प्रस्तुत गर्नु यस नाटकको विशेषता थियो।
कान्तिपुर थिएटरको छैटौँ नाट्य प्रस्तुति ‘समर लभ’ हो। सुबिन भट्टराईको चर्चित उपन्यासमा आधारित यस नाटकले अतीत र सायाको प्रेमकथा, युवा जीवन, सम्बन्ध, भावना तथा विछोडका विभिन्न आयामलाई रंगमञ्चमा प्रस्तुत गरेको छ। सम्राट भुजेलको नाट्य रूपान्तरण तथा निर्देशनमा तयार भएको यस नाटकमा सागर खनाल, बासना तिमल्सिना र अर्पण थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
कान्तिपुर थिएटरले कलाकार र दर्शकबीच अन्तरक्रियालाई प्रोत्साहित गर्दै नेपाली कला क्षेत्रमा सशक्त प्लेटफर्मका रूपमा आफूलाई स्थापित गरेको छ। नाटक मञ्चनसँगै कान्तिपुर थिएटरले अभिनय तथा थिएटर प्रोडक्सनका कक्षाहरू पनि सञ्चालन गर्दै आएको छ। हालसम्म १०० भन्दा बढी कलाकारहरूले यस थिएटरको मञ्चमा विभिन्न पात्रका रूपमा जीवन्त प्रस्तुति दिइसकेका छन्।
हाम्रो उद्देश्य
समाजका विविध विषयमा आधारित नाटकहरू प्रस्तुत गरेर यो थिएटरले नाटकमार्फत समाजमा विद्यमान कुरीति, विसंगति लगायतका गम्भीर विषयहरू, इतिहास, दर्शन र मानवीय संवेदनालाई उजागर गरी दर्शकहरूमा सामाजिक, राजनीतिक तथा सांस्कृतिक चेतनाको विस्तार गर्ने लक्ष्य बोकेको छ। यो थिएटर सिर्जनशील लेखक, निर्देशक, कलाकार तथा रंगकर्मीहरूका लागि स्वतन्त्र अभिव्यक्तिको मञ्च हो।
अभिनय र रंगमञ्च सिक्न चाहने विद्यार्थीहरूले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अभ्यासको अनुभव पनि प्राप्त गरून् भन्ने हेतुले कान्तिपुर थिएटरले यस मञ्चलाई प्रयोगात्मक विद्यालयका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ। हरेक वर्ष न्यूनतम १० वटा आफ्नै प्रोडक्सनका नाटक निर्माण तथा मञ्चन गर्ने, सकेसम्म धेरै अनुभवी कलाकारलाई यही क्षेत्रमा निरन्तर काम गर्ने वातावरण बनाउने र नयाँ कलाकारहरूलाई अवसर दिने मुख्य उद्देश्य कान्तिपुर थिएटरले लिएको छ।